arin enterprises

शनिबार थिमिमा वः फेस्टिभल हुँदै

SamacharDesk – बिराज | २०८१ जेठ २५, शुक्रबार

मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिले भोलि फेस्टिभलको आयोजना गर्न लागेको हो ।

यहाँका स्थानीय मौलिक परिकारहरुको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजक समितिले बताएको छ ।

मध्यपुर थिमि नगरपालिकाको मध्य भाग वडा नं ७ नगदेशको प्रांगणमा मेलाको आयोजना हुन लागेको छ । विहान १० बजेदेखि सुरु हुने मेला बेलुकीको ७ बजेसम्म चल्नेछ ।

मेलामा काठमाडौँ उपत्यकाका १८ वटा रेष्टुराँको साथै स्थानीय किसान, आमा तथा महिला समूह लगायतकाको विभिन्न ग्रीन भेजिटेबल र विभिन्न परिकारका स्थानीय खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

अध्यक्ष प्रजापतिका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि स्टलहरु राखिनेछ । मेलामा विभिन्न स्वाद र प्रकारका वः उपलब्ध समितिको भनाई छ ।

‘नेवाः समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन विभिन्न प्रकारका वः प्रयोग गरिन्छ । खाने मात्र होइन, स्थानीय संस्कृति, जीवनशैलीको पनि प्रचार प्रसार गर्ने हाम्रो उद्देश्य हो’ अध्यक्ष प्रजापतिले भने ।

मेलामा वःको बारे यस किसिमका ऐतिहासिक, सामाजिक जानकारीको साथमा वःको मानव स्वास्थ्यसँग सम्वन्धित वैज्ञानिक पक्षको बारेमा पनि चर्चा गर्ने योजना आयोजकको रहेको छ । वःका प्रकारहरुबारे विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत हुँदैछ ।

मेलाले मध्यपुर थिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो ।

मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताए ।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मूवः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरु तलेजु भवानीलाई चढाउने गरिन्छ ।

नेवाः समाजमा मासको माय् वः, मुँगीको मूवः, मुसुरोको मुसूवः, मासुको लावः÷लापी वः, अण्डासँग ख्येँय् वः लगायत विभिन्न वः खाने गरिन्छ ।

विशेष गरी नेवार समाजमा जेष्ठ महिनाको शुक्ल षष्ठीका दिन मनाइने ‘सिथिनखः’ पर्वमा वः पकाएर खाने गरिन्छ ।

लिच्छवीकालदेखि नै नेवार समुदायका विभिन्न चाडबाड र जीवनका विभिन्न सुखदुःख का क्षणहरुमा अण्डा सगुनसँगै वःको प्रयोग गर्ने गरेको पाइन्छ ।

Categorized in बिजनेस