arin enterprises

पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्ध्दनमा महिला पर्यटन व्यवसायी सञ्जाल

SamacharDesk – बिराज | २०८३ आषाढ २२, सोमबार

महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्ध्दनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले यो अन्तरक्रिया कार्यक्रम संचालन गरेको सञ्जालले जनाएको छ ।

पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक र समुदायसँग पर्यटन विकासका सम्भावना, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरे ।

भ्रमणका क्रममा टोलीले इलामको श्री अन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको थियो।

कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका दृष्टिले नेपालकै अत्यन्तै समृद्ध प्रदेश भएको बताइन् ।

अध्यक्ष बरालले पूर्वी नेपालमा रहेका धार्मिक तीर्थस्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका गन्तव्यहरूलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

विशेषगरी कृषि पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन, खानाका परिकार, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्रलाई थप सशक्त बनाउन सकिने उहाँको भनाइ थियो ।

अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले श्री अन्तु नेपालको पहिलो सूर्योदय अवलोकन गर्न सकिने प्रमुख गन्तव्यका रूपमा परिचित रहेको बताउँदै यस क्षेत्र प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाले सम्पन्न रहेको उल्लेख गरिन् ।

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले नेपालका गाउँहरूमा पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए ।

छोटो दूरीमै फरक–फरक हावापानी, प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक अनुभव प्राप्त गर्न सकिने भएकाले पूर्वी नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विचार आलेको थियो ।

कार्यक्रममा सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले चालु आर्थिक वर्षमा पनि पर्यटन पूर्वाधार तथा गन्तव्य विकासका विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रवर्ध्दनात्मक भ्रमणका क्रममा टोलीले काठमाडौंबाट यात्रा सुरु गरी कोशी ब्यारेज, झापा, इलाम, श्री अन्तु, बराहक्षेत्रलगायत कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेको थियो ।

भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, समुदाय तथा सरोकारवालासँग पर्यटनका सम्भावना, चुनौती, गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सीमा पर्यटनका अवसरबारे समेत विस्तृत छलफल गरिएको थियो ।

सञ्जालले आगामी दिनमा पनि देशका विभिन्न प्रदेशमा यस्तै प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै स्थानीय पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Categorized in बिजनेस