विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आजबाट
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०८१ फाल्गुण १७, शनिबार

विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आज बेलुकीबाट सुरु हुने भएको छ ।
आठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसनले अनलाइन प्रविधि जुममार्फन सम्मेलनको आयोजना गरेको हो । आज (मार्च १ शनिबार) बेलुकी नेपाली समय अनुसार ८ बजेबाट सम्मेलन सुरु हुँदैछ ।
अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठका अनुसार आज मार्च १ बाट सुरु हुने लघुकथा सम्मेलन भोलि मार्च २, त्यसपछि मार्च ८, ९, १५ र १६ तारीखका दिन हुनेछ ।
सम्मेलनमा लघुकथाकारहरुले दुई सय शब्दका आफ्ना कथाहरु वाचन गर्नेछन् ।
नेपालभाषा क्षेत्रका चर्चित लघुकथाकार अपर्णा प्रधान, प्रमिला सायमि, बिमल ताम्राकार, यज्ञरत्न धाख्वाः, राज सायमि, राजेश्वरी राजोपाध्याय, रीता महर्जन,सौरभ शाक्य, अन्जना ताम्राकार, कृष्णभक्त बोडे लगायत ७४ कथाकारहरुले सम्मेलनमा कथा वाचन गर्नेछन् ।
त्यसैगरी नेपालभाषा साहित्य क्षेत्रमा योगदान दिइ स्वर्गीय भइसकेका वरिष्ठ भाषासेवीहरु मास्टर जगत सुन्दर मल्ल, प्रेमबहादुर कसाः, धुँस्वां सायमि, दुर्लभलाल सिं, गोविन्द मान श्रेष्ठका कथाहरु पनि सम्मेलनमा सुनाइनेछ ।
उक्त सम्मेलनमा वाचन गरिने कथाहरुमा प्रा. प्रेमशान्ति तुलाधर, सह प्रा. प्रेमहिरा तुलाधर, प्राज्ञ लक्ष्मी माली, डा. दिनेश राज भुजु, डा. सुशील ताम्राकार, डा. बज्रमुनि बज्राचार्यले समीक्षा गर्नेछन् ।
कार्यक्रममा बौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य प्रमुख अतिथिको रुपमा उपस्थित रहने बताइएको छ ।
विश्वभरीका नेवाः संगठित हुँदै वर्ल्ड नेवाः अर्गनाइजेसन गठन भएको दिनको स्मरणमा हरेक वर्ष मार्चको पहिलो शनिवार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।
Categorized in समाज