arin enterprises

नेपालमा जलवायू परिवर्तन सम्वन्धि सचेतना फैलाउँदै मनाइयो फोटोग्राफी दिवस

SamacharDesk – बिराज | २०८१ भाद्र ३, सोमबार

आज अगस्ट महिनाको १९ तारीख । आजको दिन विश्वभरीको फोटोग्राफरहरुको लागि एउटा विशेष दिन हो । किनकि आज विश्व फोटोग्राफी दिवस हो ।

आज विश्वभरी विभिन्न कार्यक्रम गरी १८५औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ ।

विश्वभरीका फोटोग्राफर र फोटोग्राफी सम्वद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी आजको दिनलाई उत्सवको रुपमा मनाउने गरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि आज दिवसकै सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको मंगलबजारमा फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

जलवायु परिवर्तनसँग सम्बन्धित रहेर आयोजना गरिएको प्रदर्शनीलाई ‘When Mountain Smiles’ शिर्षक दिइएको छ ।

प्रदर्शनीको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले फोटोको माध्यमबाट जलवायु परिवर्तनले हिमालमा पारेको असरलाई उजागर गर्न गरिएको प्रयासको प्रशंसा गरे ।

प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा तस्वीरहरु राखिएको छ ।

विश्व फाेटाेग्राफी दिवसकाे इतिहास

१८२६ जनवरी ९ को दिनमा पहिलो फोटोग्राफी प्रक्रिया डागोरोटाइपको आविष्कार भएको बताइन्छ । यस प्रक्रियालाई जोसेफ नाइसफोर र लुइस डगेर नामका दुई जना वैज्ञानिक मिलेर आविष्कार गरेका थिए ।

विश्वको पहिलो फोटोग्राफीको प्रत्रिया डागोरोटाइपको आविष्कारको फ्रान्स सरकारले १९ अगस्ट, १८३९ मा घाेषणाा गरेको थियो ।

यसै दिनको सम्झनामा हरेक वर्ष अस्ट्रेलियामा एक जना फोटोग्राफरले आफ्ना साथी फोटोग्राफरहरुसँग मिलेर यो दिनमा एक ठाउँमा भेला हुने र विश्वभरी यसको प्रचार प्रसार गर्ने घोषणा गरे ।

यसै अभियानले पछि गएर विश्व फोटोग्राफी दिवसको रुप लिन पुग्यो ।

औपचारिक रुपमै अगस्ट १९ को दिनलाई विश्व फोटोग्राफी दिवसको रुपमा मनाउन थालिएको भने सन् २०१० देखि मात्र हो ।

Categorized in समाज