साओमीको पहिलो विद्युतीय कार सार्वजनिक
SamacharDesk | २०८० फाल्गुण १६, बुधबार

साओमीले पहिलो पटक आफ्नो विद्युतीय कार सार्वजनिक गरेको छ । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा साओमीले नीलो रङमा ‘एसयू सेभेन’ नामक बिजुली कार सार्वजनिक गरेको हो ।
यस कारमा साओमीको आफ्नै विद्युतीय मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यस मोटरले २.७८ सेकेन्डमा ६० माइल (९६.५ किलोमिटर) प्रति घण्टाको गति पकड्ने बताइएको छ ।
कारमा १०१ किलोवाटको ब्याट्री राखिएको र यसले अधिकतम ४९७ माइल (७९९.८४ किलोमिटर)को रेञ्ज दिने कम्पनीको दाबी छ ।
कम्पनीको अनुसार कारको अर्को आकर्षक फिचर भनेको फास्ट चार्जिङ हो । यस विद्युतीय कारलाई फास्ट चार्जरबाट १५ मिनेट चार्ज गरि ३१७ माइल (५१० किलोमिटर) रेञ्ज दिनेगरी चार्ज गर्न सकिने साओमीको दावी छ ।
कारभित्र १६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले तथा ७.१ इन्चको घुमाउन मिल्ने ड्यासबोर्ड रहेको छ । स्वचालित ड्राइभिङमा सहयोग गर्ने कारको बाहिरी भागमा विभिन्न प्रकारका रडार र लिडर सेन्सर राखिएको छ ।
यो कार कहिलेदेखि सर्वसाधरणको लागि बजारमा उपलब्ध हुन्छ र कति मूल्य पर्छ भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन ।
Categorized in विज्ञान-प्रविधी