arin enterprises

चाँपको वन (चाँगु) र माधवनारायण

SamacharDesk – चक्रधरानन्द राजोपाध्याय | २०७८ फाल्गुण २, सोमबार

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण वैष्णव सम्प्रदायको महत्त्वपूर्ण तीर्थ (धाम) हो । यहाँको हनुमान मूर्तिको फेदमा उत्कीर्ण अभिलेखअनुसार यस हनुमान र काठमाडौँको हनुमानढोकाको दूरी करिब ३३ कोष (झण्डै १७ किलोमिटर) रहेको छ । भक्तपुरबाट चाँगु करिब ६ किलोमिटर छ भने साँखुबाट चाँगु करिब ५ किलोमिटर टाढा पर्दछ ।

चाँपको वन (चगुँ)मा चाँपकै रूखबाट उत्पन्न हुनुभएको नारायणलाई चगुँ नारायण भनिएको हो । कालान्तर चगुँ नाम अपभ्रंश भई हाल चाँगु हुन पुगेको हो ।

यस महत्त्वपूर्ण वनलाई बचाई राख्न त्यस वनको रूख काटी काठ बनाए वा आगो बाल्नका लागि यहाँको दाउरा काटेर लगे दण्ड दिने व्यवस्था काठमाडौँका राजा जयप्रकाश मल्लले गरेका थिए । अझ यस्तो कार्यको कसैले उजुरी नगरे उसलाई समेत दण्ड जरिवानाको नियम बनाएका थिए । त्यहाँको रूख काट्न वा वनको रुख काटिने गरी गैरकानूनी कार्य गर्ने आदेश कुनै मन्त्री वा भारदारले नै दिए पनि त्यस्तो आदेशको पालना गर्न पर्दैनथ्यो । वन संरक्षणका लागि नियम पालना होस् भनेर नेपाल संवत् ८४९ मा एक आदेश जारी गर्दै ताम्रपत्र राखिएको छ ।

यसरी नियमपूर्वक संरक्षण गरिएको वनमा आजभोलि मानिसहरूले अनावश्यक रूपमा बढी दाउरा सङ्कलन गर्ने, चाहिने भन्दा बढी रूखहरू काट्ने, वनको रूखहरू सक्दो बढी ढाल्ने, वनमा रहेको ठुल्ठूला चट्टान फुटाउने, डाँडाको फेदमा रहेको मनोहरा (मनमती) खोलाबाट बालुवा अत्यधिक निकाल्ने जस्ता वातावरण विनाशक कार्य गर्ने विकृति बढ्दो छ । यस्तै विकृतिबीच विकासका नाममा अनावश्यक रूपमा डोजर चलाएर बाटो बनाउने होडले पनि चाँगु नारायण भास्सिँदै जाने खतराले स्थानीयहरू त्रसित हुनुपर्ने अवस्था छ ।

हाल चाँपको वन भन्ने त नाम मात्र छ, यहाँ चाँपकै रूख भन्ने त अब दुई–चारवटामा मात्र सीमित भइसकेको छ । यहाँ नौवटा दहहरू थिए, हाल पानी भएका दहहरूको सङ्ख्या पनि त्यस्तै दुईचारवटा मात्र छ । चाँगुनारायण मन्दिरको नित्यनैमित्तिक पूजाका लागि जल ल्याउनुपर्ने नारायणहिति पनि सुक्न थालेको छ । विशेष दिनहरूमा पालोवाला भँडेलले मनोहराबाट जल ल्याउनुपर्ने चलन छ, तर खोलामा पनि अव्यवस्थित रूपले बालुवा निकालिने एकतर्फ छ भने अर्कोतर्फ खोलाको पानी पनि प्रदूषित हुन थालेको छ । यस्तो अवस्थामा यहाँ परम्परागत संस्कार धान्नै गाह्रो हुन थालेको छ ।

यहाँको परम्परागत संस्कार, संस्कृतिको बारेमा उल्लेख गर्नुपर्दा यहाँ विभिन्न परम्परागत पर्वपूजा र जात्राहरू चल्दै आइरहेका छन् । वैशाखमा मूलजात्रा, श्रावण र पौषमा कलश जात्रा, फागु पूर्णिमाको वंशगोपाल (होली) जात्रा र चैतको लक्ष्मीनारायण जात्रा यहाँका प्रमुख जात्राहरू हुन् । यससँगै चाँगुमा प्रत्येक वर्ष भक्तपुरबाट नवदुर्गा नाच ल्याइन्छ । पहिले–पहिले काठमाडौँबाट १२ वर्षमा एकपटक हुने गथुप्याखं नाच पनि यहाँ ल्याइन्थ्यो, तर अहिले यो चलन लुप्त भइसकेको छ ।

पौष शुक्ल पूर्णिमा (मिला पुन्हि) देखि माघ शुक्ल पूर्णिमा (सिल्ला पुन्हि) सम्म यहाँ माघ वनेगु भन्ने चलन छ । यसका लागि एक जमात मानिसहरू चगुँ अर्थात् चाँगुको ठाउँठाउँमा बिहान परिक्रमा गर्दछन् । आइतबार वा सोमबार र बिहीबारका दिन नारायणहिति, मंगलबार सेतो गणेश, बुधबार शङ्खदह र शनिबार पारिजात सरस्वतीमा यसरी परिक्रमा गरिन्छ । त्यहाँ स्नान गरी तीर्थहरूको नाम लिँदै पहिले शुरुमा “चम्पक नारायण तीर्थ दर्शन आनन्द” भनेर कजिले भन्ने गर्छन् । यहाँ कजि भन्नाले त्यस मानिसहरुको जमातको मुख्य मान्छे भनेर बुझ्न सकिन्छ । पछि अन्य भक्तजनले “राधाकृष्ण गोविन्द” भन्छन् । त्यस्तै, अनेक तीर्थहरूको नाम लिँदै “तीर्थ दर्शन आनन्द” भन्दै सबैले श्रीराधाकृष्ण गोविन्द, हरि गोविन्द, हरिगोपाल, भजन हरिशङ्कर, हरि माधः, गया गदाधर प्रयाग माधव, काशी विश्वेश्वर शिव–शिव माधव, माधव नारायण जय भन्ने गर्छन् । शङ्खध्वनिसँगै यसरी जयजयकार गर्दै पछि नारायणको भजन गाउन स्थानमा पुगेर त्यहाँको देवताको नाममा जयजयकार गरिन्छ । आजभोलि यो परम्परा पनि हराइसकेको छ ।

चाँगुमा साँखुको माधवनारायण

यस्तै, प्रत्येक वर्ष चाँगुनारायणमा साँखुको र भक्तपुरको माधव नारायण ल्याउनुपर्छ । साँखुको माधव नारायणका व्रतालुहरू माघ शुक्ल (सिल्लाथ्व) एकादशीका दिन साँखुमा दुईपटक व्रत पूजा गरी फलप्राशन मात्र गरी अपराह्न चाँगुतर्फ प्रस्थान गर्छन् । बेलुकीको करिब १० बजेतिर व्रतालुहरू चाँगु पुग्छन् । माधवनारायण नल्याएसम्म व्रतालुहरू चाँगुनारायण मन्दिर परिसरमा भित्र पस्नु हुँदैन । कोही मन्दिरभन्दा तल बलम्पु टोलमा बस्छन्, त्यहाँ व्रतालुहरूको सुविधाका लागि आगो बालिन्छ ।

डालोमा विराजमान गरी ल्याइने माधव नारायण बलम्पु पुगेपछि शङ्खध्वनिसहित सबैलाई जल दिइन्छ र सबैजना सँगै मन्दिर परिसरमा प्रवेश गर्छन् । त्यस बेला त्यहाँ भजन गाइन्छ भने यता व्रतालुहरू मन्दिर परिक्रमा गर्छन् ।

अन्य दिन साँझपख चाँगुनारायणको नित्य आरती सकेपछि मन्दिरको ढोका बन्द गरिन्छ तर माधव नारायण ल्याइएको दिन भने मन्दिरको ढोका बन्द गरिँदैन । त्यस रात माधव नारायणलाई चाँगु नारायण मन्दिरमा लगी शङ्खजलले तीनपटक अभिषेक गरी जलप्रसाद आदानप्रदान गरिन्छ । दुई मित्रको मिलनको रातको यो क्षण निकै आनन्दमय हुन्छ — शङ्खको ध्वनि, घण्टाको झङ्कार, भक्तजनको “माधः ... माधः ...” को श्रद्धापूर्ण गुञ्जन र सुमधुर भजन — शायद स्वर्गीय आनन्द भनेको यही हो जस्तो सुखानुभूति हुन्छ ।

यसपछि माधवनारायणलाई मन्दिर परिसरको विशेष स्थानमा लगी राखिन्छ । त्यहाँ पनि भजन गरिन्छ । व्रतालुहरू त्यहाँ भुइँमा पल्टेर साष्टाङ्ग दण्डवत् गर्दै मन्दिर परिक्रमा गर्छन् — कठिन परिश्रमका साथ भक्ति गरिन्छ र केही पछि विश्राम गरिन्छ । सो दिन व्रतालुहरू चाँगुमै बस्छन् ।

भोलिपल्ट माघ शुक्ल द्वादशीका दिन बिहान सबैरे व्रतालुहरू आ–आफ्ना पूजा सामग्रीहरू लिई व्रत पूजा गर्ने स्थान शङ्खदह (हाल अपभ्रंश भई सांगदह भनिने) जान तयारी गर्छन् । उक्त दह चाँगुनारायण मन्दिरभन्दा करिब १ किलोमिटर तल पर्छ । माधव नारायण व्रतालुहरू देवतासहित त्यहाँ पुगेर नित्य स्नान गर्छन् । शङ्खदहमा पानी नहुँदा त्यहाँ यस दिनका लागि अस्थायी पोखरी बनाई त्यहाँ पानी जम्मा गरी काम चलाइएको छ ।

दहको छेउमा माधवनारायण राखिन्छ । त्यहाँ भक्तजन दर्शनपूजाका लागि ठाउँ–ठाउँबाट आउने गर्छन् । व्रतालुहरू नित्यकर्म सकाई त्यहाँ व्रतपूजाको तयारी गर्छन् । देवतालाई गर–गहना लगाइन्छ । व्रतालुहरू दहमा गई आचमन लिन्छन्, चोखो जल भर्छन् र व्रतपूजा गर्ने स्थानमा आई बस्छन् । यस व्रतका दौरान उनीहरूलाई कसैले छुनु हुँदैन, कसैले छोएमा उनीहरू पुनः शङ्खदहमा गई आचमन लिएर आउनुपर्ने हुन्छ ।

चाँगुनारायणका पुजारीले उक्त व्रतालुहरूलाई विधिवत् व्रत र पूजा गराउने चलन छ । व्रतपूजाका दौरान आनन्दमय शङ्खध्वनि र भजन हुने गर्दछ । पूजापश्चात् सबैले जलप्रसाद ग्रहण गर्दछन् । इच्छुक भक्तजनले व्रतालुहरूलाई भोजनवस्तु, टीका र दक्षिणा दिने गर्छन् ।

पुरुष भक्तजनले सहस्रधारा लिई ठाउँ–ठाउँमा जलधारा छर्दै जान्छन् । शङ्खध्वनिसाथ भजन गाउँदै सबैजना चाँगुनारायणतर्फ प्रस्थान गर्छन् । मन्दिर परिसर पुगेपछि व्रतालुहरूले चाँगुनारायणको तीनपटक परिक्रमा गर्छन् । माधव नारायणलाई त्यहाँ ल्याई शङ्खजलले तीनपटक अभिषेक गरी प्रसाद आदानप्रदान गरिन्छ । त्यसपछि माधव नारायणलाई मन्दिरको उत्तरतर्फको सत्तलमा राखी भक्तजनबाट पूजा लिइन्छ र पछि साँखु फिर्ता लगिन्छ । व्रतालुहरू साँखु पुगेर मात्र भोजन (पालं) गर्छन् । यससँगै साँखुको माधवनारायणको परदेश यात्रा समापन हुन्छ ।

यो पनि हेर्नुहोस् –

साँखुको यति प्रख्यात माधव नारायण व्रतलाई त्यहाँका केही विद्वान् संस्कृतिकर्मीहरूले स्वस्थानी माधवनारायण व्रत भनिरहेका छन् । यति मात्रैले नपुगेर माधव नारायण स्वयंले स्वस्थानी व्रत गर्नुभएको पनि भन्छन्, जुन कुनै शास्त्रमा कतै उल्लेख छैन । नारायणले पार्वतीलाई स्वस्थानी व्रत गर्न उपदेश दिनुभएको कथासम्म मात्र छ ।

माधव नारायणको व्रतका बेला स्वस्थानीको ‘स’सम्म पनि उच्चारण हुँदैन, स्वस्थानीको पूजा पनि हुँदैन । स्वस्थानी व्रतका लागि आरसी (ज्वलान्हाय्कं) मा ॐ कार लेखी पूजा गरिन्छ भने माधव नारायणको नै पूजा गरिन्छ । स्वस्थानी व्रत समापनका बेलामा १०८ जजंका, अक्षता, पान, सुपारी, रोटी राखी त्यसमध्ये आठ रोटी, पान, सुपारी, जजंका, अक्षता आफ्ना पतिलाई दिइन्छ । पति नभए छोरा, छोरा नभए मीतछोरालाई दिइन्छ । मीतछोरा पनि नभए जुन कामनाले व्रत बसेको हो, सो कामना पूरा होस् भनी नदीमा बहाइन्छ । तर माधव नारायणको व्रत बस्ने बेला यसरी १०८ सामग्रीहरू आवश्यक पर्दैन । प्रसाद पनि आफ्ना पतिलाई दिने हो ।

माधवनारायणको व्रत सालिनदी छेउमा विराजमान श्रीस्वस्थानीको मन्दिरमा नभई अलग्गै व्यवस्था गरिएको स्थानमा देवता राखी व्रतपूजा गरिन्छ । ध्यान, स्तोत्र र पूजाविधि समेत फरक–फरक छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म व्रत बस्ने समय मात्रै मिलेको हो ।

वर्षका १२ वटै महिनामा भगवान् नारायणको फरक–फरक नाम र रूप छन् । त्यसमध्ये माघ महिनामा मानिने नारायणको नाम माधव हो । उनै नारायणको यस महिनाभर व्रत गरिन्छ ।

नेपाली भाषामा निर्मित एक चलचित्रको गीतमा उनी माधव नारायणको व्रतलाई स्वस्थानी व्रत भनी देखाइएको छ । स्वस्थानी व्रत सेवा समिति र माधव नारायण व्रत सेवा समिति नै दुई फरक–फरक समिति छन् । अहिले यी दुवैलाई एउटै भनी भ्रम फैलाइँदै छ ।

भक्तपुरको माधव नारायण

भक्तपुरको माधव नारायण पनि चाँगुनारायणमा माघ शुक्ल द्वादशीकै दिन ल्याइन्छ । भक्तपुरको हनुमानघाट, ख्वरमा व्रत बस्नेहरू आफ्नै स्थानमा नित्य व्रतपूजा गरी पुरुष व्रतालुहरू धोती लगाई सहस्रधारा गर्दै र महिला व्रतालुहरू पूजा सामग्री लिँदै भक्तपुरबाट चाँगु आउँछन् ।

उनीहरूले पनि चाँगुको शङ्खदह पुगी पूजा गर्छन् । त्यस बेला चाँगुनारायणको पुजारीले व्रत पूजा गराउनु पर्दैन, भक्तपुरबाट देवतासँगै आउने राजोपाध्याय ब्राह्मणले सो पूजा गराउँछन् ।

पूजापछि शङ्खध्वनिसहित व्रतालुहरू चाँगुनारायण मन्दिर परिसर आउँछन् । यही शङ्खध्वनिसँगै व्रतालुहरू चाँगुनारायणको परिक्रमा गर्छन् । माधवनारायणलाई चाँगु मन्दिरमा लगी शङ्खजलले तीनपटक अभिषेक गरिन्छ र फूलप्रसाद आदानप्रदान गरिन्छ । त्यसपछि पुनः शङ्खध्वनिसहित मन्दिरको परिक्रमा गरेपछि व्रतपूजा सम्पन्न गरिन्छ । व्रतालुहरूले सो दिनको प्रसाद (पालं) ग्रहण गर्नका लागि भक्तपुर नै फर्कन्छन् ।

साँखुको माधव नारायण र भक्तपुरको माधव नारायणको पूजा फरक–फरक हुन्छ ।

अन्तमा

साँखु र भक्तपुरको माधव नारायणसँगको चाँगुनारायणको यस्तो परम्परागत सम्बन्ध तीनै शहरका वासिन्दाको गौरव हो । यस्तो परम्परालाई संरक्षण गर्नु र निरन्तरता दिनु हामी सबैको दायित्व हो ।

लेखक चाँगुनारायण मन्दिरका मूल पुजारी हुन् ।

फोटो ग्यालरी : माधवनारायण परदेश यात्रा – चाँगु
Categorized in विचार